+
Search

ताजा अपडेट +

पपुलर +

दोबाटेलाई रोकेपछि देउवालाई शेखरको प्रश्न : भोलि कुन मुखले दलितकहाँ भोट माग्न जानु?

4KNationalDaily
२०७८ श्रावण १०, आईतवार १८:५८ बजे

गाेरखा- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकार विस्तारमा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई लत्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

उनले यसलाई पार्टीले गरेको अक्षम्य भूल भएको टिप्पणी गरेका छन्। यसले दलित समुदायप्रति अपमान गरेको उनको भनाइ छ। गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्माको नाम अन्तिममा काटेर व्यापारी पृष्ठभूमिका बिन्दु थापालाई मन्त्री बनाइएको थियो।

‘सामाजिक कुरीतिका विरुद्ध व्यावहारिक रूपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खित बनाएको छ। त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको छ,’ कोइरालाले भनेका छन्, ‘भोलि कुन मुखले उनीहरूको अगाडि जाने ? यो हेक्का राख्नुपर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैँलाई पुग्यो ?’

सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभएको भन्दै उनले व्यवहार र लोकतान्त्रिक आचरण भएको उल्लेख गरेका छन्। बिपी स्मृति दिवस मनाउँदै र बिपीको तस्बिरमा चढाएको फूल नओइलिँदै गर्दा भएको यो निर्णयको जवाफ कांग्रेसले समाजलाई दिनुपर्ने उनको भनाइ छ।

कोइरालाले यो गल्तीलाई तुरुन्त सच्याउनुपर्ने बताएका छन्। ‘भोलिका दिन यस्ता निर्णयहरू पार्टीको निम्ति निकै महँगो पर्न सक्छ। सबैले हेक्का राखौँ,’ कोइरालाले भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily