काठमाडौँ- सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् ।
अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिवद्धतासमेत जनाएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् ।
काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ? भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरे । यस्ता कुराहरुमा आफ्नो पार्टीको विरोध रहने केसीले बैठकमा बताए ।
राज्यमन्त्री श्रेष्ठबारे केसीले प्रश्न उठाएपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्तिहरु र निर्णयहरु गर्दा गठबन्धनमा सल्लाह भएर मात्र गर्नुपर्ने बताए । राज्यमन्त्री श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले यसपटक यस्तै भइहाल्यो, अबदेखि यस्तो हुँदैन भन्दै नेताहरुलाई आश्वस्त पारेका थिए ।
प्रतिक्रिया