काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य विमला वली सम्पर्कविहीन भएकी छन्। नेकपा माओवादी केन्द्रले वली पार्टीको सम्पर्कमा नरहेको जनाएको छ।
आज हुने माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा सहभागी हुनका लागि खबर गर्न खोजिएपनि उनी केही दिनयता सम्पर्कमा नरहेकी हुन् । आफूहरुको सांसदलाई नेकपा एमालेले अपहरण गरेको माओवादीले आरोप लगाएको छ।
दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी वलीले सर्वोच्चको एमाले र माओवादी ब्युँताउने फेसलापछि माओवादी रोजेकि थिइन्।
जनता समाजवादी पार्टी(जसपा) का तीन सांसद शुक्रबार पदमुक्त भएपछि ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन्। उनीसँग एमालेका ३८ सांसद रहेका छन् भने विपक्षी गठबन्धनमा ४१ जना रहेका छन्।
मुख्यमन्त्री पोखरेललाई हटाउन गठबन्धनबाट मुख्यमन्त्री प्रस्ताव गरिएका माओवादीका नेता कुलप्रसाद केसी र प्रदेश सभामुख पूर्ण घर्ती केही दिन अघि काठमाडौं आएका थिए। काठमाडौं आएका केसी र घर्तीले माओवादीका अध्यक्ष प्रचण्डसहित गठबन्धनका नेताहरूसँग भेटघाट गरेका थिए।
गठबन्धनबाट केसीलाई माओवादीका १८, कांग्रेसका १९, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जनाले समर्थन गरेका छन्। केसीको पक्षमा प्रदेश सभाका ४१ जना सांसदले समर्थन गरेका छन्।
यस्तै, पोखरेलको पक्षमा ३८ जनाले मात्रै समर्थन गरेका छन्। उनलाई समर्थन गरेका जसपाका ३ सांसद कारबाहीमा परिसकेकाले उनको पक्षमा ३८ मात्रै भएको हो।
३८ जनामध्ये पनि २ जना एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन्। पोखरेलले विश्वासको मत लिए (नेपाल पक्षले साथ नदिँदा) उनको पक्षमा ३६ जना मात्रै हुने देखिएको छ।
प्रतिक्रिया