+
Search

ताजा अपडेट +

पपुलर +

गत आवमा १ लाख ७ हजार घर पुनर्निर्माण, निजी आवासमा ९०.४१ प्रतिशत वित्तीय प्रगति

4KNationalDaily
२०७८ श्रावण १९, मंगलवार १८:५७ बजे

काठमाडौं- गत आर्थिक वर्ष ०७७/७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वार्षिक समीक्षा गोष्ठीमा आज उक्त जानकारी दिइएको हो।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन्। त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता, ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन्।

उक्त आर्थिक वर्षमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा साँस्कृतिक सम्पदा र नौ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको प्राधिकरणले जनाएको छ। यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका नौ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको छ। योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सबै २१६ वटा सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण सकिएको जानकारी दिइएको छ।

कोभिड महामारीलगायतका समस्याका बाबजुत गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको प्राधिकरणको भनाइ छ। निजी आवासतर्फ विनियोजित कूल बजेट २३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँमध्ये २१ अर्ब ५६ करोड आठ लाख रुपैयाँ खर्च भएको छ, जुन विनियोजित बजेटको ९०.४१ प्रतिशत हो। समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ।

‘गत आर्थिक वर्षमा सार्वजनिक तथा ऐतिहासिक संरचनाहरुको पुनर्निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ। ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएर २०७७ कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो। त्यसैगरी, सिंहदरबारको पश्चिमबाहेकका मोहडाहरु धरहरा स्तम्भको पुनर्निर्माण पनि सम्पन्न भयो,’ प्राधिकरणको भनाइ छ, ‘सोही अवधिमा काठमाडौं जमलस्थित ऐतिहासिक दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भएर अध्ययन-अध्यापन सुरु भयो।’

उक्त अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समितिसमक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएका थिए। सो अवधिमा राष्ट्रिय पुनर्निर्माण निर्देशक समितिका तीनवटा बैठक सम्पन्न भएको, कार्यकारी समितिको १३४औं देखि १४७औं गरी १४ वटा बैठक सञ्‍चालन भएको प्राधिकरणले जनाएको छ।

सोही आर्थिक वर्षमा प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धमा ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद र पुनर्स्थापना तथा पुनर्निर्माणका अनुभवहरुको समीक्षा गर्न सेमिनारको आयोजना गरेको थियो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने र घर नबनाउनेहरुले के कारणले घर बनाएनन् भन्ने अभिलेख राखिने बताए। ज्ञवालीले यस अवधिमा लेखापरीक्षण, अभिलेखीकरण तथा हस्तान्तरणका कार्यहरु समानान्तर रुपमा अगाडि बढ्ने पनि उल्लेख गरे। प्राधिकरणको कार्यावधि २०७८ पुस १० गतेसम्म छ।

वार्षिक समीक्षामा कोराना माहामारीका कारण गत आर्थिक वर्षको अन्तिम साढे दुई महिना काम रोकिँदा निजी आवासलगायत पुनर्निर्माणका कतिपय कार्यहरु सम्पन्न गर्न नसकिएको, केही बजेट फ्रिज भएको, सहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको, जग्गा अभावका कारण केही विद्यालय पुनर्निर्माणमा समस्या देखिएको औंल्याइएको छ।

पुनर्निर्माण कार्यहरुको वार्षिक प्रगति, समस्या तथा सिकाइको समीक्षामा पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय, विभाग तथा अन्य निकायका प्रतिनिधिहरुको सहभागिता थियो।

‘भर्चुअल’ माध्यमबाट गरिएको समीक्षामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राधिकरणअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन एकाइहरु, भूकम्पीय आवास पुनर्निर्माण आयोजना, पुरातत्त्व विभाग, पशुपति क्षेत्र विकास कोषलगायतका प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरुको सहभागिता थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily