काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । उनीहरुमाथि अस्ति नै कारवाही गर्नुपर्नेमा केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको बताएका हुन् ।
मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यिनीहरुलाई कारवाही पहिल्यै गर्नुपर्ने थियो । यिनीहरु कारवाहीका लायक नै हुन् ।’ यसअघि माधव नेपाल लगायतका नेताहरुले एमालेले पटक–पटक स्पष्टीकरण सोधेर पनि अहिलेसम्म कारवाही गरेको छैन ।
२४ घण्टे स्पष्टीकरण सोधेकै बेला कार्यदलका सदस्यहरुले वार्ता चलिरहेको भन्दै कारवाहीमा जानबाट रोकेका थिए । तर, आफूले पहिल्यै कारवाही गर्न चाहे पनि कार्यदलका नेताहरुको कुरा सुनेर कारवाही नगरेको ओलीले मंगलबारको बैठकमा बताएका हुन् । यसअघिको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली आफैंले ‘एम्नेष्टी इज ग्रान्टेड’ भन्दै आममाफी दिने घोषणा गरेका थिए ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको थाहा पाउनासाथ एमालेले मंगलबार नै स्थायी कमिटीको बैठक र त्यसलगत्तै संसदीय दलको बैठक बोलाएको हो । यसैबीच, मंगलबार नै एमाले नेताहरुले निर्वाचन आयोगमा पुगेर केन्द्रीय कमिटीको नामावली अद्यावधिक गरेका छन् ।
सरकारले पार्टी विभाजनका लागि केन्द्रीय कमिटीमा ४० प्रतिशतको साटो २० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याएसँगै एमालेले केन्द्रीय कमिटीको संख्या थपेर आयोगमा अद्यावधिक गराएको हो । एमालेले केन्द्रीय कमिटीको संख्या २६० बनाएको छ ।
प्रतिक्रिया