पोखरा- गण्डकी प्रदेश सरकारले मन्त्रीहरुले मुख्यमन्त्रीको आलोचना गर्न नपाउने गरी आचारसंहिता बनाएको छ । मन्त्रिपरिषदले पारित गरेको ३० बुँदे आचारसंहितामा मन्त्रीले मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्ने नपाउने उल्लेख गरिएको छ । त्यस्तै कास्की बाहिर जाँदा पनि मुख्यमन्त्रीलाई जानकारी गराएरमात्र जानुपर्ने जनाइएको छ ।
‘मन्त्रीले कास्की जिल्ला बाहिर जानु पर्दा वा विदेश भ्रमणमा जानु पूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने छ,’ आचारसंहितामा भनिएको छ । सरकारले अघिल्लो मन्त्रिपरिषदले बनाएको ३० बुँदे आचारसंहितालाई केही संशोधन गरी पारित गरेको हो ।
मन्त्रिपरिषद वा मन्त्रिपरिषदका सदस्यका बीचमा भएको वा हुने कुनै पनि विवाद सञ्चारमाध्यममार्फत अभिव्यक्त गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको ४ दलको गठबन्धनबाट गठित सरकारमा १ स्वतन्त्र सांसदसहित ३ दल सहभागी छन् । राष्ट्रिय जनमोर्चा पार्टी नीति अनुसार सरकारमा सहभागी छैन ।
मुख्यमन्त्रीसहित ५ मन्त्रालय कांग्रेसको भागमा पर्दा अर्थमन्त्री रामजी बरालको नेतृत्वमा ४ मन्त्रालय लिएर माओवादी सरकारमा छ भने जनता समाजवादी पार्टीका एक र स्वतन्त्रबाट राजवि गुरुङ (दीपक मनाङे) सरकारमा छ ।
प्रतिक्रिया