काठमाडौं- नेपाली बृहत् शब्दकोशले गठ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह ।’ बन्धनको अर्थ छ, ‘बाँध्ने काम ।’
र, सिंगो गठबन्धन शब्दको अर्थ हुन्छ, ‘कुनै कामकुराका लागि एक भएर मिल्ने कामस परस्परको मिलोमतो । कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना बित्यो । तर, अझैसम्म यसमा न गठबन्धनको स्वरूप देखिएको छ, न चरित्र नै । उल्टै बरु गठबन्धनमा सहभागी दलहरूबीच खटपट बढेको खबर आजको अन्नपूर्ण पोष्टमा यो समाचार छ ।
अध्यादेश गलपासो
संसद् छलेर ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश नै सत्ता गठबन्धनको गलपासो बनेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवाका पक्षमा बहुमत पुर्याउन ल्याइएको अध्यादेशले अहिले गठबन्धनका दलमा हलचल पैदा गरेको छ । अध्यादेश फिर्ता लिन गठबन्धन भित्रैबाट देउवामाथि चर्को दबाब छ । तर, देउवाले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तार र उच्चस्तरीय संयन्त्र गठनलगायत काम रोकिएको नेताहरू बताउँछन् ।
सीमा समिति सुटुक्क
चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले भदौ १६ मा समिति गठन गरेपछि गठबन्धनमा खटपट सुरु भएको नेताहरू बताउँछन् । समिति गठनको निर्णयले उत्तरी छिमेकी चीन असन्तुष्ट बनेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका थिए । दाहालले चीनसँग सीमा विवाद भएको भनिएको हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षलाई काठमाडौं बोलाएर सीमाबारे जानकारी पनि लिइसकेका छन् । स्रोतका अनुसार दाहाल यस विषयलाई लिएर देउवासँग असन्तुष्ट बनेका छन् ।
एमसीसीमा प्रष्टै दुई धार
अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्ने कि नगर्ने भन्नेमा पनि सत्ता गठबन्धनमा एकमत छैन । एमसीसी उपाध्यक्ष नेपाल भ्रमणमा आएर छिटो निर्णय गर्न आग्रह गरेपछि गठबन्धन दबाबमा परेको हो । माओवादी अध्यक्ष दाहालले एमसीसी पारित हुन नसक्ने धारणा सार्वजनिक गरेका छन् भने एकीकृत समाजवादी अध्यक्ष नेपालले भने राष्ट्रिय सहमति भए मात्र एमसीसी अनुमोदन हुने धारणा राखेका छन् ।
दलका आन्तरिक लफडा
गठबन्धन दलभित्र मन्त्रीका आकांक्षीको संख्या धेरै भएको र मालदार मन्त्रालयमाथि सबैका आँखा परेका कारण पनि खटपट बढेको नेताहरू बताउँछन् । प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग मन्त्रीको नाम माग गरिसकेका छन् । तर, उनीहरूले मन्त्रालयको नाम र संख्याको भागबण्डापछि मात्र मन्त्रीका लागि नाम दिने अडान राखेका छन् ।
सरकार सञ्चालन संयन्त्रमा ढिलाइ
सरकार सञ्चालनमा सहयोग गर्न सत्ता गठबन्धनका शीर्ष नेता सम्मिलित उच्चस्तरीय समिति गठन गर्ने नेताहरूले बताएका थिए । तर, मन्त्रालय भागबण्डासहित अरू लफडाका कारण संयन्त्र गठन हुन नसकेको नेताहरू बताउँछन् । ‘अरू विषयमा सहमति भए संयन्त्र गठन पनि छिट्टै हुन्छ,’ देउवा निकट एक नेताले भने ।
प्रतिक्रिया