काठमाडाैं- सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन । भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै केहि लम्बिने भएको छ ।
भागबन्डाको विषयमा गठबन्ध बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की नै भएको थियाे । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयमा दुवै पार्टीले दाबी गरेपछि सहमति जुट्न नसकेको हो।
स्रोतका अनुसार जसपा अध्यक्ष यादवले उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय चाहेका छन्। परराष्ट्र नभए कुनै महत्वपूर्ण मन्त्रालय चाहेका छन् । जसपाले उपप्रधानमन्त्री पाए अध्यक्ष यादव पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाने मुडमा छन् । तर उपप्रधानमन्त्री नपाए राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवलाई पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाउने सोचमा उनी छन् ।
स्रोतका अनुसार भूमि व्यवस्था मन्त्रालयमा यसपटक नेकपा (माओवादी केन्द्र)ले दाबी गरेको छ । यो मन्त्रालयमा जसपाले पनि आँखा लगाएको छ । खासगरी सुकम्बासी आयोग गठन गर्दा ठूलो संख्यामा राजनीतिक नियुक्त गर्न पाइने र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न पाइने हुँदा यसबाट चुनावमा फाइदा पुग्ने विश्लेष्ण माओवादी केन्द्र र जसपाको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवकाे नेतृत्वमा सरकार बनेकाे २ महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेकाे बेलामा मन्त्रालय भागबन्डाको लफडा परेकाे हाे । सरकारमा देउवासहित कांग्रेसका २ जना, माओवादी केन्द्रका २ जना थरि ५ जनाकाे मन्त्रिमण्डल रहेकाे छ ।
प्रतिक्रिया