काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ को उपाधि भरतमणि पौडेलले चुमेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोटका साथ ‘कमेडी च्याम्पियन २’को उपाधि हात पारेका हुन् ।
उपाधिसँगै उनले एउटा कार र २५ लाख रुपैयाँ पुरस्कार जिते । ग्रान्ड फिनालेमा भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा पुगेका थिए । भरतमणि ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बन सफल भएका थिए ।
विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए। सन्तोष तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्। कमेडी शो’को निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् ।
‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बन्न सफल भएका थिए । पौडेलले अब जिन्दगीको परीक्षा सुरु भएको बताएका छन्। पौडेलले कमेडी च्याम्पियनको यात्रा सकिए पनि अब वास्तविक परीक्षा सुरु भएको बताएका हुन्।
‘अहिलेलाई कमेडी च्याम्पियनको यात्रा मात्रै सकिएको हो, जिन्दगीको परीक्षा अझै बाँकी छ,’ उनले भन्छन्, ‘अब मलाई साथ दिने दर्शकको अपेक्षाअनुसार काम गर्दै जानु छ। सबैको माया सद्भाव पाएर यहाँसम्म आएँ, अब उहाँहरुको विश्वासलाई कायम राख्नु छ।’
पौडेलले च्याम्पियन बनेसँगै कोरोना महामारीको कहर शान्त भएपछि देश तथा विदेशका विभिन्न स्थानमा यात्रा गर्ने र प्रस्तुति दिने बताएका छन्। आफ्नो भूगोलमा संघर्ष गरिरहेका थुप्रै मध्येबाट आफूले कमेडी च्याम्पियन जित्नु त्यो क्षेत्रले नै जित्नु बराबर भएको उनको भनाइ छ।
‘ताप्लेजुङमा हास्यव्यंग्यमा केही गर्न खोजिरहेका धेरै भाइबहिनी हुनुहुन्छ,’ उनी भन्छन्, ‘म काठमाडौंमा बसेर आफ्नै किसिमले संघर्ष गरिरहेको थिएँ। आजको जित मेरो परिवारसँगै सबै ताप्लेजुङको हो। अब थप लगाव र जिम्मेवार भएर यो क्षेत्रमा योगदान दिने जिम्मेवारी थपिएको छ।’
प्रतिक्रिया