काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् ।
‘अहिले पनि यो सरकार ढाल्दिऊ भन्ने हो भने धेरै त नभनौं, एक हप्ता भित्र यो सरकार जान्छ । एमालेले ढाल्दिऊ भन्ने हो भने । यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं । लोभीपापीहरु छन्, दिए भइगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र । दिए सिद्धिने कुरा छ त्यहाँ । अरुले भन्दा हामी दिन सक्छौ नि’ ओलीले भने ।
उनले सरकार ढाल्न अरुले भन्दा आफूले बढी बिलो दिनसक्ने बताए। ‘अरुले पाँच बिलो लगाउनुपर्छ। हामीलाई त के छ र, सिङ्गै आफू हो,’ उनको भनाइ थियो।
उनले प्रचण्डलाई मिलाउन पनि आफूले ४० प्रतिशत दिएको बताए। ‘अरुले त्यो गर्नसक्छ? कांग्रेसले माधव नेपाललाई ल ४० प्रतिशत देओस् त। प्रचण्डलाई देओस् त ४० प्रतिशत। सक्दैनन्। त्यहाँ त बिलो बाँड्नुपर्छ,’ उनले भने।
‘माधव आउँछन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे’
ओलीले अब दसबुँदे सहमतिको औचित्य नभएको बताएका छन्। माधव नेपाल आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्।
‘अब १० बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे।’
यसर्थ अब एमालेमा त्यो दसबुँदे सहमतिको कुनै अर्थ नरहेको ओलीले बुधबार बताएका हुन्। उनले सारंगी बजाएजस्तो हात बनाउँदै अब दसबुँदेको गीत गाइरहनु आवश्यक नभएको बताए।
अन्तिम समयमा भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत दोस्रो पुस्ताका १० नेता त्यही दसबुँदे कार्यान्वयनको अपेक्षामा माधव नेपालको साथ छाड्दै ओली पक्षमै समाहित भएका हुन्।
अहिले पनि भीम रावलले बेलाबेला दसबुँदे कार्यान्वयनको कुरा उठाउने गरेका छन्। दसबुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट आएका नेताहरूलाई उही पदमा राख्नेलगायत पछिल्लो निर्णयलाई नै ओलीले कायम राखेका छन्।
‘अब के दसबुँदे दसबुँदे, हाम्रो पार्टी हामीले बनाएको पार्टी। एक ठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढ्ने सिद्धियो’, ओलीले बुधबार भने, साथीहरुले अलि अलि बाटो बिराउनुभयो होला। फर्केर आउने काम गर्ने।’
उनले ‘बाटो बिराएर’ माधव नेपालसँग गएकाहरूलाई पनि फर्केर आए उचित जिम्मेवारी दिन आफू अझै तयार रहेकाे बताए। ‘तर माधव नेपाललाई नो इन्ट्री’, उनले भने।
प्रतिक्रिया