सप्तरी- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका निम्ति टिकट माग्नेहरु आफ्नो सम्पर्कमा आउन थालेको बताएका छन् । राजविराजमा आयोजना गरेको ‘सप्तरीको विकास’ विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै उनले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको बताएका हुन् ।
‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ उनले भने, ‘ कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।’
गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए । कुन जनप्रतिनिधिलाई चयन गर्यौं जनतालाई त्यो पनि थाहा नहुनु विडम्बना भएको उनले बताए । ‘जनतालाई जागरुक बन्नु जरुरी छ,’ उनले भने ।
यो सोचको चुनावमा परिणाम के होला ? भन्ने प्रश्न गर्दै उनले यसमा करेक्सन हुनु जरुरी रहेको बताए । ‘किन १० करोड लगाउँछ ? राजनीति किन गर्छ ?’ उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो । पेशा रहेन् ।’
प्रतिक्रिया