अजिरकाेट (गोरखा)– ०७२ वैशाख १२ पछि खण्डहर झैँ बनेको अजिरकोट गाउँपालिका जुर्मुराउन निकै समय लाग्यो। भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न अजिरकोटका स्थानीय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न अग्रसर भए ।
अजिरकाेटलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न २०७४ मा सुरु भयो- ‘नम्की, सिरानडाँडा र भच्चेकलाई पर्यटकीय केन्द्र बनाउने योजना ।’ जिल्लामा प्राचीन ३८ कोटहरू छन् त्यसमध्ये एक हो अजिरकोट । तल्लो मनासलु कोट मार्गमा पर्ने अजिरकोट क्षेत्रका भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, नारद पोखरी, मनासलु हिमालको मनोहर दृश्यको अवलोकन पनि यो क्षेत्रका पर्यटकीय गतब्य हुन् ।
यो मार्गबाट दुधपोखरी र नारदपोखरी तथा मनासलु हिमशृङ्खला जान सकिन्छ । दुधपोखरी, सिरानडाँडा, दोबाटो, ठुलो खर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुईखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ ।
नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागे पोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेझाडी, पोखौला, चिलिमखरे ओडार, बौला खोला, चरम माडी हुँदै पुग्न सकिन्छ । दुधपोखरी र नारद पोखरीमा जनै पूर्णिमामा धार्मिक मेला लाग्ने गर्दछ ।
गोरखा सदरमुकामबाट झन्डै ५२ किलोमिटर उत्तरमा रहेको अजिरकोट गाउँपालिका पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । छिटो, छोटो तथा सहज सडक सञ्जाल पुगेको यो क्षेत्रमा रमाउन पुग्नेको संख्या समेत उल्लेखनीय रहेको छ ।
भूकम्पले थलिएको पहाडी सौन्दर्य बोकेको अजिरकाेट क्षेत्र फेरि कोरोना महामारीले थला पर्यो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा नम्कि होमस्टे सञ्चालन भएपछि अझ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय आइरहेको गाउँपालिका अध्यक्ष फणीन्द्र धिताल बत्ताउँछन् ।
पछिल्लो समय कोरोना महामारीपछि सञ्चालनमा रहेको होमस्टेका सञ्चालकहरू समेत खुसी भएका छन् । स्थानीय तामाङ समुदायको संस्कृति झल्कने सेलोसँगै न्यानो आतिथ्य पाउने नम्कीमा पुगेका पर्यटकहरूले चिया बगैँचा, अलैँचीवारि दूध पोखरी, नागेँ पोखरीलगायतका आकर्षक ठाउँको अवलोकन गर्न पाउँछन्।
होमस्टेमा आउने पाहुनालाई खानामा अर्ग्यानिक र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने गरिएको छ। स्थानीय जातका कुखुरा, खसी बोका, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकारको व्यवस्था गरिएको छ।
गोरखाका प्रमुख बजारमध्येको एक भच्चेक बजारको इतिहास पनि रोचक नै छ । विभिन्न भनाइहरू विभिन्न भनाइहरूलाई आधार लिने हो भने भच्चेक बजार १९९२ वरिपरि काठमाडौँबाट राम शाहका पालामा नेवार समुदायका मान्छेहरू आएपछि सामान्य खालको बजारका रूपमा विकास भयो । तर, विभिन्न किवंदन्तिहरूमा भने १८२० को सेरोफेरोमा पृथ्वीनारायण शाहको शासनकालमा ‘मिलिसिया’का रूपमा स्थापित भएका सेनाले त्यो ‘भाँचिएको डाँडो’मा गएर बसेपछि खासमा यो बजार भच्चेक बजारका रूपमा विस्तारित भएको बताइन्छ । पछिल्लो समय अजिरकाेट क्षेत्र पदयात्रा र शान्ति रुचाउनेहरूको रोजाइमा पर्दै आएको छ। प्राकृतिक सौन्दर्यसँगै गाउँले परिवेश अजिरकाेटको आकर्षण हो।
पर्यटन मार्ग
गाउँपालिकाले भच्चेक–सिरानडाँडा–निम्चेपोखरी–नागेपोखरी–दुधपोखरी–नारद पोखरीसम्म पैदल मार्ग बनाउने अभियान चलाएको छ । जिल्लाका विभिन्न कुण्डहरूमध्येका कुण्ड निम्चेपाेखरी नागेपोखरी, दुधपोखरी, नारदपोखरी अजिरकाेटमा पर्छ । यही पर्यटकीय स्थलमा जान गाउँपालिकाले यस्तो योजना बनाएको हो ।
किन जाने अजिरकाेट?
अजिरकोट गाउँपालिका पर्ने भच्चेक, नम्कीर सिरानडाँडाको दुरी काठमाडौंबाट १७० किलोमिटर हो। यो समुद्री सतहबाट १ हजार ८ सय उचाइमा छ। जहाँ तामाङ समुदायको बाहुल्य छ। तामाङ संस्कृति, परम्परा, जीवनशैली र खानपानको अनुभव गर्दै फरक स्वाद मेट्न सकिनेछ । यहाँका सुन्दर गाउँहरूले तपाईँलाई लोभ्याउनेछन्। हिमालदेखि पहाडको विस्तृत हिमशृङ्खलाको मनमोहक दृश्य पनि नम्कीबाट देख्न सकिन्छ।
याे पनि,
बेरोजगारलाई रोजगार दिन पर्यटन मार्ग बनाउदैं अजिरकोट गाउँपालिका
लिगलिग कोटमा आन्तरिक पर्यटकको आकर्षण
अजिरकाेटमा खाजा खर्चमा गयाे २२ लाख, अध्यक्ष र उपाध्यक्ष लिन्छन् दाेहाेराे सुविधा
पर्टकीय गतब्यकाे एक सुन्दर गतब्य : अजिरकाेट गाउँपालिका [फोटो फिचर]
अजिरकाेटका ‘छोटे राजा’हरु कहिले सुध्रेलान् ?
नम्कीमा जुर्मुराउँदैछ भूकम्पले भत्काएको पर्यटन सपना, विदेशीसमेत होमस्टेमा तानिँदै
तस्बिर : राज तामाङ
प्रतिक्रिया