+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री देउवाले भने- एमसीसी पारित हुन्छ, ‘अर्ली इलेक्सन’बारे गठबन्धनमा छलफल हुन्छ

4KNationalDaily
२०७८ कार्तिक ५, शुक्रबार १५:४६ बजे

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान एमसीसी संसद्‌बाट पारित हुने बताएका छन्। वर्षात्ले प्रभावित सुदूरपश्चिमका जिल्लाको भ्रमण सकेर कैलालीमा पत्रकार सम्मेलन गरेका देउवाले एमसीसी ऋण नभई अनुदान भएको दोहोर्‍याए।

‘एमसीसी संसदबाट पारित हुन्छ। एससीसीको बारेमा झुठो कुरा फैलिएको छ। यसमा नेपालको कानुन लागू हुन्छ भन्या छ’, पत्रकारको जिज्ञासामा देउवाले भने, ‘नेपालको कानुन एमसीसी भन्दा मााथि हुन्छ भनेर उनीहरुले भनिसके। नेपालको कानुन भन्दा तल हो भनेर उनीहरुले स्पष्टीकरण दिइसके।’

विश्व बैंक र एडीबीमा अन्तर्राष्ट्रिय कानुन लागू हुने बताउँदै देउवाले एमसीसीमा नेपालकै कानुन आकर्षित हुने बताए। नेपाल प्रेस युनियनले कैलालीमा गरेको पत्रकार सम्मेलन बोल्ने क्रममा देउवाले सुदूरपश्चिममा बेमौसमी वर्षाले सबैभन्दा बढी असर गरेको बताए।

उनले भने, ‘धेरै ठाउँमा नोक्सान गरेको छ। काटेको धानमा क्षति पुर्याएको छ। छिट्टै तत्कालीन राहतको कार्यक्रम ल्याउनेछौं।’ तत्कालीन र दीर्घकालीन कार्यक्रममार्फत् पीडित नागरिकको सम्बोधन गरिने प्रधानमन्त्री देउवाले आश्वासन दिए।

‘अर्ली इलेक्सन’बारे गठबन्धनमा छलफल हुन्छ

देउवाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल नसकिँदै ‘अर्ली इलेक्सन’ हुन सक्ने संकेत गरेका छन्।  ‘अहिले गठबन्धन सरकार छ, मैले एक्लैले भनेर मात्र हुँदैन,’ अर्ली इलेक्सनको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा देउवाले भने, ‘यसबारे गठबन्धनले जे भन्छ, त्यही हुन्छ। यसबारे गठबन्धनमा छलफल हुन्छ।’

पछिल्लो समय कांग्रेसमा अहिलेको अन्योलभन्दा चाँडै निर्वाचनमा जानुपर्ने आवाज उठ्न थालेको छ। प्रमुख प्रतिपक्ष एमालेले पनि वैशाखमा निर्वाचन गराउन जोड दिइरहेको छ। तर, सत्तारुढ गठबन्धनका दुई घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने प्रतिनिधि सभालाई पूरा अवधि चल्न दिनुपर्ने धारणा राख्दै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily