+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो आज

4KNationalDaily
२०७८ कार्तिक १०, बुधबार १०:५० बजे

काठमाडाैं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) प्रदेशसभा बैठकमा विश्वासकाे मत लिने कार्यक्रम तय गरिएकाे छ। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतमा मतदान गर्ने तयारी सबै पूरा भइसकेको छ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षका सांसद बस्ने छुट्टाछुट्टै कक्ष व्यवस्था गरिएको छ भने अधिकृतसहितका कर्मचारी खटाउने तयारी छ।मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव यही कात्तिक ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो।

यसअघि विश्वासको मतका लागि मतदान गर्न दुईपटक मिति तोकिए पनि सत्तारूढ एमाले र विपक्षी गठबन्धनबीच विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक स्थगन गरेका थिए।

यस्तो छ प्रदेशसभा सदस्यको अंकगणित

१०९ सदस्यीय प्रदेशसभामामा बहुमत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ। तर सत्तापक्ष एमालेका ४३ जना मात्र सांसद छन्। उता विपक्षी गठबन्धनतर्फ भने माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।

प्रदेशसभामा सभामुखसहित ५६ प्रदेश सभा सदस्य रहेको एमालेबाट बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले एमाले विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् ।

पार्टी विभाजन भएपछि बागमतीमा एमालेका १३ जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । त्यसपछि एमाले सभामुखसहित ४३ सदस्यमा सीमित हुँदै बहुमत गुमाएको थियो ।

एमालेमा अन्तरसंघर्ष चर्किरहेका बेला माधवकुमार नेपाल पक्षमा रहेकी शाक्य अन्तिम समयमा केपी शर्मा ओली पक्षमा लागेकी थिइन् । लगत्तै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर एमालेले शाक्यलाई मुख्यमन्त्री बनाएको थियो । शाक्य मुख्यमन्त्री भएको २ दिनमै एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily