+
Search

ताजा अपडेट +

पपुलर +

एमाले आँबुखैरेनीकी अध्यक्ष भन्छिन्– महिला सक्षम छन् भन्ने पुष्टि गर्नेछु

4KNationalDaily
२०७८ कार्तिक १०, बुधबार १७:२५ बजे

तनहुँ- नेकपा एमालेको गाउँ तथा नगर अधिवेशन मङ्गलवार सम्पन्न भएको छ । यही क्रममा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत नेतृत्व चयन भएका पाँच स्थानीय तहमध्ये आँबुखैरेनीले महिला नेतृत्व पाएको छ । आँबुखैरेनीकी अध्यक्ष बनेकी ४४ बर्षीया मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

गाउँ कमिटी अध्यक्ष बनेपछि अधिकारीले महिला नेतृत्व हाँक्न सक्षम रहेको पुष्टि गर्ने बताएकी छिन् । संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, ‘मसँग आँट र साहस दुवै छ । अनुभव पनि छ । मेरो कामले महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित हुनेछ ।’

उनले महिलालाई नेतृत्व दिन पार्टीपंक्तिले पनि कन्जुस्याइँ गर्ने गरेको बताइन । ‘अहिलेसम्मको परिस्थितिमा कुनै राजनीतिक दलले पनि महिलालाई नेतृत्व सहजै दिएका छैनन् । एक त महिलालाई घरपरिवारबाटै असाध्यै कठिन छ । त्यो चुनौती पन्छ्याएर राजनीतिमा लागेपछि पनि पार्टीको आन्तरिक राजनीतिमा फेरी सङ्घर्ष गर्नुपर्ने हुन्छ’, उनले भनिन् । अब पार्टीमा महिलाको सहभागितासँगै नेतृत्वमा पुर्‍याउन भूमिका खेल्ने उनको भनाइ छ ।

बन्दीपुर गाउँपालिका–१, नाहालमा जन्मिएकी अधिकारीले कक्षा ९ मा पढ्दा अनेरास्ववियू छैटौँमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनी ०५५ सालपछि भने पार्टीको सक्रिय राजनीतिमा लागेकी थिइन ।

एमालेको गाउँ तथा नगर अधिवेशनबाट जिल्लामा कार्यकारी पदमा न्यून सङ्ख्यामा महिला सहभागिता देखिन्छ । शुक्लागण्डकी नगरपालिकामा विष्णुमाया ढकाललाई सर्वसम्मत उपसचिव बनाइएको छ । भानु नगरपालिकामा रुपा लामा उपसचिव बनेकी छन् । यस्तै व्यास नगरपालिकामा सीता पाण्डे उपसचिव बनेकी छन् ।

एमालेको ८२ वडामा अधिवेशन सकिदा शुक्लागण्डकी नगरपालिका–९ मा गीत महत र आँबुखैरेनी गाउँपालिका–२ मा सम्झना विक मात्र वडा कमिटी अध्यक्ष बनेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily