काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्रीहरुलाई १० बुँदे निर्देशन दिएको छ।
पार्टीको २०७८ असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले गरेका निर्णयहरुलाई मिति २०७८ कात्तिक ९ गते अन्तर पार्टी निर्देशनमार्फत देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई प्रेषित गरिएको जानकारी गराइएको छ।
एकीकृत समाजवादीले मन्त्रीहरुलाई विवादमा पर्ने कुनै पनि काम नगर्न भनेको छ। त्यस्तै, पाँच दलीय गठबन्धनको भावना अनुरूप अन्य दलहरूसँग सहकार्य गर्न भनेको छ। निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहन पनि निर्देशन दिइएको छ।
यी हुन्, १० बुँदे निर्देशनः
१) इमान्दारिता र कर्तव्य निष्ठाका साथ काम गर्न,
२) राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न,
३) निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहन,
४) योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनौट गरी जिम्मेवारी दिन,
५) विवादमा पर्ने कुनै पनि काम नगर्न,
६) स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न,
७) पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न,
८) सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूबाट नियमित रूपमा राय परामर्श लिन,
९) नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटोछरितो ढंगले काम गर्न,
१०) पाँच दलीय गठबन्धनको भावना अनुरूप अन्य दलहरूसँग सहकार्य गर्न,
प्रतिक्रिया