+
Search

ताजा अपडेट +

पपुलर +

सर्लाही पुगेर प्रचण्डको प्रस्तावः माओवादी–जसपा एकता गरौँ, घोषणासभा जनकपुरमा गरौँ

4KNationalDaily
२०७८ कार्तिक १३, शनिबार १८:०७ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् ।

कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’

प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । ‘नडराई पार्टी एउटै बनाऔं, सिद्धियो, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं’ उनले भने ।

प्रचण्डले अघि भने, ‘एकता मन परेन भने भन्यो भने तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन । अब मधेस माओवादीमय हुनेछ ।’

मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने प्रचण्डले दावी गरे । प्रचण्डले आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा सहभागी भएको टिप्पणी गरे ।

‘को मधेसको मित्र हो, को मधेसको दुश्मन हो ?’ उनले प्रश्न गरे, ‘महन्थ ठाकुरहरु मधेसी हुन् ?’ उनले पार्टी एकता गरेर अघि बढे देशकै बलियो शक्ति हुने र प्रदेश २ मा पनि आफूहरुको पार्टीको बर्चस्व कायम हुने तर्क गरे।

‘पार्टी एकता गरेर जनकपुरमा घोषणा सभा गरौँ। अब समयले तपाईंहरुलाई पर्खिँदैन’, उनले भने, ‘अब झुक्किने दिन गए। एकता नगरेर भीरबाट जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन।’

महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन्

प्रचण्डले को मधेसको मित्र हो, को दुश्मन हो बुझाईदिन शिक्षक तथा बौद्धिक वर्गलाई अनुरोध पनि गरे । ‘केपी ओली जो मधेस, गणतन्त्र, समावेशी विरोधी हो । उसलाई साथ दिने र माओवादीलाई एक्ल्याउनुपर्छ भन्ने महन्थ ठाकुहरुहरु मधेसका हुन् ? मधेसी हुन् ?’ उनले आक्रोश पोखे, ‘रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउ भनेर माओवादीले प्रस्ताव राख्दा विरोध गर्नेहरु मधेसका मित्र हुन् ?’

प्रचण्डले थपे, ‘अनि मधेसी जनतालाई स्पष्ट पार्नका लागि जस्तोसुकै खतरा मोलेर भए पनि मधेसमै चुनाव लड्छु, मधेसी जनताको माया र विश्वास पाए भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्छु भन्ने तपाईको मित्र हो कि मधेसी अनुहार देखाएर मधेसी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरु तपाईका मित्र हुन् ? यो फैसला तपाईहरुले यो पटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बइरीहरु को हो छान्नुपर्नेछ ।’

परिवर्तन विरोधी, सामन्ती, दलाल, निरंकुश, अहंकारी ओलीले धोका, विश्वासघात, बेइमानी र षडयन्त्र गरेर आफूलाई बादशाहजस्तो ठानेपछि घोडाबाट पछारेर बालुवाटारबाट बालकोट पठाइदिएको उनको भनाइ थियो । ‘माओवादी आगो हो खेल्ने कोसिस नगर भनेको थिए,’ उनले भने, ‘अहिले बालकोट मात्र होइन बागमती गयो । लुम्बिनी, गण्डकी गयो । अब प्रदेश १ पनि जाँदैछ । माओवादीलाई जिस्क्याउन खोज्दा के हुँदो रहेछ हेर्नुस् त ।’

प्रचण्डले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई ओलीले पदमुक्त गरेकोमा पनि आक्रोश पोखे । ’मधेसको दलितलाई प्रदेश प्रमुख बनाएको थिए, ओलीले देखिसहेन । हटायो । मैले फेरि बनाए,’ उनले भने, ‘को व्यवहारमा मधेसी जनताको हक अधिकारका लागि लड्छ, को गफ दिन्छ तपाईले फैसला गर्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily