+
Search

ताजा अपडेट +

पपुलर +

ओलीतिर संकेत गर्दै प्रचण्डले भने– उनको टार्गेट माओवादी होइन, मलाई सिध्याउनेतर्फ छ

4KNationalDaily
२०७८ कार्तिक १८, बिहीबार १४:०२ बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशभित्रका प्रतिक्रान्तिकारी प्रतिगामी र देशबाहिरका समेत केही शक्ति आफूलाई हराउने मिसनमा रहेको बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतामा माओवादीप्रति उभार आउन थालेपछि उनीहरु आत्तिएको बताए ।

प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको नाम नलिइ भने– ‘तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उनको टार्गेट माओवादी होइन, प्रचण्डप्रति देखिन्छ । प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ प्रचण्ड सिध्याउने भनेर लागेका छन् । अहिले अनौठो लाग्न सक्छ,सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् । तर व्यक्तिगत रुपमा हारजितको मतलब छैन, लास्टसम्म लड्ने भनेर हिँडेको छु ।’

‘माओवादी जाग्न खोज्दै छ। हामीले फेरि एकपटक उत्पीडितका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिको मुद्दा लागु गर्न क्रान्तिकारी पार्टी बनाउन जस्तोसुकै आन्दोलन गर्न संकल्प गर्नुपर्छ’, उनले भने, ‘माओवादी केही वर्षयता केही शिथिल जस्तो देखिएकाले प्रतिक्रियावादीले टाउको उठाएका छन्। षड्यन्त्र सकिएको छैन। माओवादी फेरि जाग्नेछ।’

उनले देशका ६ वटा प्रदेश गठबन्धनको सरकार बनाउन ठूलो दुःख गर्नुपरेको बताए। ‘जति सेटिङ भए पनि मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुँदो रहेछ’, उनले भने, ‘६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ। यो सानो दु:खले आएको होइन।’

माओवादीलाई क्रान्तिकारी पार्टी बनाइ छाड्ने सङ्कल्पलाई पूरा गर्नुपर्ने दाहालले बताए। विचारधारात्मक प्रश्नमा जति छलफल भनेजति प्रशिक्षण नहुँदा माओवादीमा वैचारिक संकट आएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily