काठमाडौं- नेकपा माओवादी केन्द्रले न्यायालयमा देखिएको विवादका सन्दर्भमा नबोल्ने बताएको छ। मंगलबार बसेको स्थायी समितिको निर्णय सुनाउँदै प्रवक्ता कृष्णबहादुर महराले न्यायालय आफैंले आफ्नो समस्या समाधान गर्नुपर्ने बताए।
‘न्यायालयभित्र तीव्र विवाद उठिरहेको छ। त्यो स्वतन्त्र संस्था हो। त्यसको बारेमा हामी केही बोल्दैनौं। न्यायालय आफैंले टुंग्याओस् भन्नेमा छौं’, उनले भने।
दुई हप्तादेखि सर्वोच्च अदालतका नियमित प्रक्रिया अवरुद्ध भइरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै न्यायिक क्षेत्रले विरोध जनाइरहेको भए पनि उनले राजीनामा दिएका छैनन्। यस विषयमा दलहरुले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने माग उठिरहेको छ। तर, उनीहरुको बोलिरहेका छैनन्।
राष्ट्रिय सहमति र संशोधन नगरी एमसीसी पास हुँदैन
माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म अमेरिकी परियोजना एमसीसी पास गर्न नहुने अडान लिएको छ। एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई पत्र पठाएको कुरा आएका बेला माओवादीले यस्तो भनेको हो।
बैठकमा एमसीसीबारेमा छलफल भएको बताउँदै महराले राष्ट्रिय सहमति भइ यो संसदबाट पास हुन नसक्ने निचोड निकालिएको उल्लेख गरे। त्यसैगरी विवादित बुँदाहरु संशोधन र परिमार्जन नभइ एमसीसी अगाडि नबढाउने कुरा बैठकमा भएको पनि उनले बताएका छन्।
‘एमसीसीबारे बाहिर जुन कन्फ्युजन भएको छ। हाम्रो पार्टी राष्ट्रिय सहमति नभइकन, संशोधन, परिमार्जन नभइ अगाडि नबढाउने पक्षमा छ’, महराले भने, ‘एमसीसीका कतिपय कुराहरु आपत्तिजनक छन्। केही कुरा परिमार्जन नभइ र सबै दलको राष्ट्रिय सहमतबिना यो अगाडि बढ्दैन।’
प्रतिक्रिया