काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा मंगलबार आयोजित नवप्रवेशी नापी अधिकृतहरुको लागि अनुशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री श्रेष्ठले जिम्मेवार भएर राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गरिन्।
मन्त्री श्रेष्ठले मन्त्रालय र नापी विभागप्रति रहेका नकारात्मक सन्देशलाई परिवर्तन गर्नेगरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिइन्। भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धित कर्मचारी अझै जिम्मेवार बन्नु पर्नेमा उनको जोड थियो ।
मन्त्री श्रेष्ठले सरुवा र बढुवाका लागि कर्मचारीहरु नेता तथा हाकिमको कोठा र घर चाहर्ने कामको अब अन्त्य गर्नु पर्ने भन्दै कर्मचारी सरुवाका लागि चक्रिय प्रणाली आवश्यक रहेकाले त्यसको तयारी गर्न समेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिइन्।
प्रतिक्रिया