काठमाडौं- नेपालले भारतलाई विगत दुई सातामा ६ करोड रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ । भारतीय एक्सचेन्ज मार्केटमा कारोबार अनुमति पाएयता कात्तिक १७ देखि ३० सम्म ३ करोड ७७ लाख २ हजार भारु अर्थात ६ करोड ३ लाख २३ हजार रुपैयाँको विद्युत् बेचिएको हो ।
भारतलाई विद्युत् बेच्दा कात्तिक २३ मा सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा (३.७० भारु) मूल्य पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सबैभन्दा कम कात्तिक १८ मा प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसा (१.९६ भारु) मा बिजुली बेचिएको छ । अहिले नेपालले भारतको एक्सचेन्ज मार्केटमा हरेक दिन ३९ मेगावाट अर्थात् ९३ हजार ६ सय युनिट विद्युत् बेचिरहेको छ । यसमा २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारत जान्छ ।
स्वदेशमा आन्तरिक खपत हुन नसकेर खेर गइरहेको विद्युत् मात्रै अहिले भारतको एक्सचेन्ज मार्केटमा गइरहेको प्राधिकरणले जनाएको छ । यद्यपि भारतलाई विद्युत् बेच्दा पाएको मूल्य भने प्राधिकरण आफैंले निजी क्षेत्रका आयोजनाबाट विद्युत् खरिद गर्न तोकेको भन्दा कम हो ।
प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गर्छ । केही आयोजनामा भने विदेशी मुद्रा अर्थात् डलरमा समेत पीपीए भएकाले उनीहरूबाट उत्पादित विद्युत् अझ योभन्दा महँगो पर्न जान्छ ।
यस अर्थमा प्राधिकरणले भारतलाई आफूले खरिद गर्ने मूल्यभन्दा कममा बेचेको देखिन्छ । त्यस्तै नेपालभित्रै बेच्ने विद्युत्को मूल्य पनि योभन्दा महँगो छ । पीपीए रकम र आन्तरिक महसुललाई भारतमा बेचेको विद्युत्को मूल्यसँग तुलना गर्दा अहिले प्राधिकरणले घाटाको व्यापार गरिरहेको छ ।
नेपालले भारतसँग मात्र नभई क्षेत्रीय बजारमा नै ऊर्जा व्यापारको सम्भावना खोजिरहेको छ । बोलकबोल प्रक्रिया र न्यून मूल्य बोली लगाउने प्रस्तावकले विद्युत् बेच्न पाउने हुँदा सस्तो दरमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता पनि प्राधिकरणसँग छ । एक्सचेन्ज बजारमा महँगोमा विद्युत् बेच्न राख्दा बिक्री नै नहुने अवस्थासमेत देखिन सक्छ ।
प्रवक्ता भट्टराई भने यस वर्ष अब अधिकतम दुई सातासम्म मात्रै नेपालले विद्युत् बेच्न सक्ने बताउँछन् । त्यसपछि सुक्खायाममा नदीको पानी घट्ने भएकाले उत्पादन पनि घट्छ । त्यो बेलामा भने नेपालले फेरि भारतबाट विद्युत् आयात गर्नुपर्छ । तर यस वर्ष ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि राष्ट्रिय प्रणालीमा जोडिएकाले भारतबाट आयात घट्ने अपेक्षा गरिएको छ । सुक्खायाममा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन पनि ९० मेगावाटसम्म झर्ने प्राधिकरणको अनुमान छ ।
प्रतिक्रिया