काठमाडाैं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ४३औं संस्करण आजदेखि सुरु हुँदैछ । आज अपराह्न दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर डर्बी अर्थात् फ्रेण्ड्स र नवप्रवेशी सातदोवाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष लिग हुन सकेन । यसपल्ट अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरस्कार राशीमा बृद्धि गरी सिंगल राउण्ड रोविन प्रणाली र सप्ताहन्तमा खेल गर्ने गरी करिव चार महिनाको लिग तालिका सार्वजनिक गरेको छ ।
हरेक साताको शुक्रबार, शनिबार, आइतबार र सोमबार मात्र लिगका खेलहरु हुनेछन् । सुरुआती दुई चरणको खेल दशरथ रंगशालामा भए पनि च्यासल, सातदोवाटो र पोखरा रंगशालामा पनि लिगका खेलहरु सन्चालनको तयारी गरिएको एन्फाले जानकारी दिएको छ । लिग फागुन तेस्रो साता सकिनेछ ।
लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउँछन् । साविक विजेता मछिन्द्र पुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब उपाधिको मूख्य दाबेदारको रुपमा देखिएका छन् । मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ ।
यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ । अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया