काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा साविकको विजेता मछिन्द्र फुटबल क्लबले न्यूरोड टिम (एनआरटी)माथि संघर्षपूर्ण जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रले न्यूरोडलाई २-१ गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा दुवै गोल सुनिल बलले गरे। यता, न्यूरोडका लागि एरिक बिष्टले एक गोल गरे।
पहिलो हाफ आक्रमक खेलेको मछिन्द्रले एक गोलबाहेक गर्न सकेन। यता, बढी नै रक्षात्मक खेल प्रदर्शन गरेको न्यूरोडले पनि मछिन्द्रको पोष्टमा लोभलाग्दो प्रहार गर्न सकेन। तर, दोस्रो हाफमा भने मछिन्द्रले एक गोल खाँदै एक गोल फर्कायो।
खेलको १२औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो। उसका लागि सुनिल बलले गोल गरेका थिए। उनले विशाल राईले मिलाइदिएको पासमा एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गरे।
जितसँगै मछिन्द्रले ३ अंक जोडेको छ। यता, न्यूरोडले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। आजै भएको दिनको पहिलो खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले १-१ गोलको बराबरी खेलेका थिए।
प्रतिक्रिया