चितवन- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा हिजो सम्पन्न भएको थियो । बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने छ ।
बन्दसत्रका लागि सेभेन स्टार होटल परिसरमा एमालेले अस्थाइ डोम निर्माण गरेको छ। बन्दसत्रमा २ हजार १ सय ७५ जना प्रतिनिधि हुने छन्। बन्दसत्र अघि शुक्रबार एमालेको अन्तिम केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकले नेताहरुको पदीय व्यवस्थापन मिलाउन केन्द्रीय कमिटीको आकार ठूलो बनाउने तथा उपाध्यक्ष र उपमहासचिवको पद पनि थप्ने भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सहमतिका लागि भन्दै गरेको केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बैठकले यसबारे दशौं महाधिवेशनको बन्दशत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव लैजाने निर्णय गरेको छ। त्यस्तै, २ उपाध्यक्ष र २ उपमहासचिव थप्ने ओलीको प्रस्ताव पनि बैठकले पारित गरेको छ। गत असोजमा सम्पन्न एमालेको विधान महाधिवेशनले केन्द्रीय कमिटी २२५ सदस्यीय रहने, उपाध्यक्ष ४ र उपमहासचिव १ जना रहने व्यवस्था गरेको थियो।
अब उपाध्यक्ष ६ र उपमहासचिव ३ जना हुनेछन्। अब नयाँ पद थप्न एमालेले दशौं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गर्नुपर्नेछ। एमालेले विधान महाधिवेशनबाट हटाइएको पोलिटब्यूरो पनि ब्युँताउने निर्णय गरेको छ। जसअनुसार केन्द्रीय कमिटीको एकतिहाइ सदस्य अर्थात् ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ। एमालेको स्थायी कमिटी भने ४५ सदस्यीय हुनेछ।
वरिष्ठ उपाध्यक्ष, महासचिव र सचिवका पद भने यथावत् रहनेछन्। विधान महाधिवेशनले १ वरिष्ठ उपाध्यक्ष, १ महासचिव र ७ जना सचिवको व्यवस्था गरेको थियो।
प्रतिक्रिया