काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। यस दिन पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा ओर्लिएको छ। बुधबार नेप्से ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको थियो।
आज बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ। बुधबार दुई अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार एक अर्ब रुपैयाँले बढेर तीन अर्ब ४१ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज कारोबारमा आएका २३१ कम्पनीका ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर किनबेच भएका छन्। यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ। सेन्सेटिभ परिसूचक ९.४६ अंकले घटेर ४८७.२८ विन्दुमा ओर्लिएको छ।
बिहीबार कारोबारमा आएका दुई कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ। न्यादी जलविद्युत् कम्पनी र सामलिङ पावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको हो।
कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.८० प्रतिशतका दरले गुमाएका छन्। आज सबै उपसमूहको परिसूचक घट्दा सबैभन्दा धेरै विकास बैंक उपसमूहका लगानीकर्ताले गुमाएका छन्। यस समूहको लगानीकर्ताले आज आफ्नो सेयर मूल्य ३.८२ प्रतिशतले गुमाएका छन्।
प्रतिक्रिया