काठमाडौं- बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा नै बैठक सुरु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र, समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् । अब बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी हुनेछन् ।
कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा पहिलोपटक सर्वदलीय शीर्ष बैठकमा सहभागी भएका छन् । यसअघिका शीर्ष बैठकमा नेपाली कांग्रेसबाट अन्य नेता सहभागी हुने गरेकोमा यसपटक थापा पनि उपस्थित भएका हुन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई बैठकमा सहभागी गराएका हुन् ।
सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल पनि बैठकमा छन् । कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि पदाधिकारी हैसियतमा थापाले सर्वदलीय बैठकमा प्रतिनिधित्व गरेका हुन् ।
प्रतिक्रिया