काठमाडाैं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भोजन व्यवस्थापनमा अनियमितताकाे आरोप लागेका सुरेन्द्रराज पाण्डे केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । उनले २ हजार २०१ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा प्यानलका पाण्डे गृहमन्त्री बालकृष्ण खाँड निकटका मानिन्छ । गाेरखा घर भएका पाण्डे कांग्रस जिल्ला निर्वाचनमा समेत एक्लिएका थिए । संस्थापन इतरका जिल्ला सचिवमा निर्वाचित भएका किशाेरजङ्ग थापा हराउन कम्मर कसेर लागेका पाण्डे असफल भएका थिए ।
पछिल्लाे समय गाेरखामा एक्लिएका पाण्डेलाई गाेरखा नगरपालिका मेयर राजनराज पन्तले समेत साथ दिएका थिए । संस्थापन इतरका पन्त समुह छाेडेर संस्थापनतिर लागेपछि गण्डकी प्रदेशकाे सह-महामन्त्रीमा समेत पराजित भएका थिए । पाण्डे कांग्रेसको निर्वतमान केन्द्रीय सदस्य हुन् । पार्टी नेतृत्वलाई समेत अलमलमा पारेर पाण्डेले खाना र बस्नका लागि छुट्याइएको रकममा गरेको अनियमितता बाहिरिएको छ । पाण्डे आर्थिक प्रलोभनमा परेको भन्दै उनको चर्को आलोचना भएको छ ।
भाेजन तथा आवास ब्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाएपछि पाण्डेले टेण्डर दिँदा अनूचित फाइदा लिएको आरोप लगाएकाे थियाे । कोटेशन आव्हान गरिएकोमा सस्तो दरले खाना खुवाउँछु भनेकालाई नदिएर आफ्नो सेटिङमा भएका पार्टी प्यालेसलाई दिएको रहस्य खुलेको थियाे ।
खाना तथा खाजा खुवाउने टेण्डर दियालो पार्टी प्यालेस र अनुपम फुडल्याण्डले पाएका थिए । स्रोतका अनुसार, दियालोमा पाण्डेको शेयर रहेको छ भने अनुपम उनको साथीको हो । स्काई दरवार बैंक्वेट, स्काई पार्टी प्यालेस र लर्ड प्यालेसलगायतलले पनि कोटेशन फारम भरेका थिए ।
‘कोटेशन मागेको थियो हामीले पनि फारम भरेका हौं, सस्तो मूल्य राखेका थियौं तर पाइएन’ काेटेशन भरेका एकले भने ‘ समितिको संयोजकको पनि लगानी भएको प्यालेस थियो अरे ! र, साथीको पनि थियो, त्यसैले पायो भन्ने सुनेको हो ।’ उनले बिहानको खानाको मूल्य ५ सय ८० र बेलुकाको ६ सय रुपिँयामा खुवाउन आफू तयार भएको बताएका थिए । यो मूल्यमा भ्याट जोडिने गरी कोटेशन भरेका थिए । भोजन तथा आवास व्यवस्थापन समितिका एक सदस्यले खाना र खाजाको मूल्यबारे आफूलाई केही थाहा नभएको दावी गरेका थिए।
‘संयोजकलेनै कुरा गर्नुभएको हो, मूल्य कति हो थाहा भएन ’ उनले भनेका छन् ‘खान र बस्न कसैलाई असहज भएन ।’ तर महाधिवेशन प्रतिनिधिहरुले भने खानामा अस्तव्यस्तता भएको र बसोबासको पनि सहजता नभएको बताएका थिए ।
समितिले मंसिर २४, २५ र २६ गतेका लागि दैनिक ८ हजार जनालाई चिया, खाजा र खाना खुवाउने गरी कोटेशन मागेको एक पार्टी प्यालेस सञ्चालकले बताएका थिए । टेण्डर गुपचुप राखेर संयोजक पाण्डेले आफूखुशी काम गरेको आरोप लागेको हाे ।
प्रतिक्रिया