काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलले तत्काल काम थाल्ने भएको छ ।
आइतबार गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको संयोजकत्वमा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।
कार्यदलका संयोजक खनालले आज-भोलि नै कार्यदलको पहिलो बैठक बसेर काम सुरु गर्ने बताए । उनले कतिपय एमसीसीसँग सम्बन्धित दस्तावेजहरू ओली नेतृत्वको सरकारले लुकाएकाले ती दस्तावेजहरू समेत खोजेर अध्ययन गर्ने बताए ।
‘पहिलो बैठकको समयका लागि छलफल भइरहेको छ । साथीहरूसँग छलफल गरेर पहिलो बैठक कुनै पनि बेला बस्छ र आजभोलिबाटै काम सुरु हुन्छ’, कार्यदल संयोजक खनालको भनाइ छ । उनले कार्यदलले एमसीसीबारे विभिन्न दस्तावेजहरू अध्ययन गर्ने र निचोडका रूपमा सरकारलाई सुझाव पेस गर्ने पनि बताए ।
‘हामी पहिला सबै सम्बन्धित दस्तावेजहरू भेला गर्छौ, हिजो हामीले कतिपय दस्तावेजहरू पाएकै थिएनौ, त्यो बेला केपी ओली सरकारले दस्तावेज नै लुकाइदियो । ती दस्तावेजहरूको समेत अध्ययन गरेर सरकारलाई सुझाव पेस गर्छौ’, संयोजक खनालको भनाइ छ ।
त्यस क्रममा कार्यदलले अन्य दलका नेताहरूसँग समेत छलफल गर्नेछ । हाल तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए ।
प्रतिक्रिया