काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन्। शुक्रबार अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्।
विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले शौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो। ‘विमानस्थलमा यात्रुको चाप बढी हुन्छ’, उनले भने, ‘यहाँबाट आन्तरिक तथा विदेशी पर्यटक आउने जाने हुँदा शौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस्।’
भारत भ्रमणबाट शुक्रबारै स्वदेश फर्किएका मन्त्री आलेले विमानस्थलको एअर ट्राफिक कन्ट्रोल (एटिसी) टावर, रार्डर सिष्टमबारे जानकारी लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँले बताए।
‘एटीसीको कन्ट्रोलरूपमै पुगेर मन्त्रीज्यूले जानकारी लिनुभयो’, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘उहाँको अनुगमनले हाम्रो मनोबलसमेत बढेको छ, सबै कर्मचारी खुशी भएका छौँ।’
मन्त्री आलेले करिब तीन घण्टा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गरे। अनुगमनकै क्रममा उनले विमानस्थलको सटल बस सेवाको प्रभावकारिताको पनि जानकारी लिएका नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले बताए।
प्रतिक्रिया