काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो ।
‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ माओवादीको जोड छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’
स्यानेटरी प्याड’मा कर लगाएकोमा माओवादीको आपत्ति, फिर्ता लिन माग
माओवादीले महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा कर लगाएकोमा आपत्ति जनाएको छ । महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये स्यानेटरी प्याडलाई विलासीबस्तुको सूचीमा राखेर कर लगाएकोमा आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।
‘महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडलगायत अन्य दैनिक जीवनमा प्रयोग हुने सामाग्रीलाई सरकारले विलासी बस्तुमा सूचीकृत गरी १३ प्रतिशत कर लगाएकोमा प्याड लगायत त्यस्ता बस्तुलाई विलासी बस्तुको सूचीबाट हटाई करमुक्त गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ ।
प्याडजस्ता बस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग विशेष अनुरोध पनि माओवादीले गरेको छ ।
‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीको आपत्ति
माओवादीले ‘जनयुद्धकालीन मुद्दा’मा आफ्ना तीन कार्यकर्तालाई पक्राउ गरी बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । मोरङका झलक भगत, गोरखाका विक्रम गुरुङ र कालीकोटका सिंहबहादुर शाहलाई ‘जनयुद्धकालीन मुद्दा’ पक्राउ गरी बन्दी बनाएपछि माओवादीले आपत्ति जनाएको हो ।
सो घटनालाई लिएर माओवादीको आठौं महाधिवेशनमार्फत समसमायिक प्रस्ताव पारित गर्दै बन्दी रिहाइको अपिलसमेत गरेको छ ।
‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षका रूपमा सञ्चालित महान् जनयुद्धमा भागलिएका मोरङको क. झलक भगत, गोरखाका क. विक्रम गुरुङ र कालिकोटका क. सिंहबहादुर शाह लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरू माथि जनयुद्धकालीन मुद्दाका आधारमा बन्दी बनाइएको छ’ प्रस्तावमा अगाडि भनिएको छ, ‘यो महाधिवेशन उहाँहरूमाथि लगाइएका मुद्दा खारेज गर्न र थुनामा रहेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’
काठमाडौं उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ
माओवादीले काठमाडौं उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ । महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे बिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो ।
‘चुरे विनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले पानीको सतह सयौं फिट तल जाने, डुबान र कटानले धनजनको क्षति हुने, साथै मधेशको मरूभूमिकरणको कारक चुरे दोहनको प्रक्रिया रोक्न तथा नदी प्रणाली र काठमाण्डौं उपत्यकाभित्र रहेको माटो, बालुवा उत्खनन तथा प्रशोधन तत्काल बन्द गर्न प्रभावकारी कदम चाल्न यो महाधिवेशन आग्रह गर्दछ’ पारित प्रस्तावमा भनिएको छ ।
प्रतिक्रिया