काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।
सुवेदी दम्तपतीलाई केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा मंगलबार रिहा गरेको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए।
उनका अनुसार तत्काल मुद्दा नचल्ने अवस्थामा हिरासतमा राखिरहन नमिल्ने भएकाले सरकारी वकिलको सहमतिमा दुबै जनालाई रिहा गरिएको हो। उनले भने, ‘दुबै जनालाई भनेको समयमा हाजिर हुने सर्तमा छोडिएको छ।’
बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गरेको पाइएकोमा १४ रोपनी जग्गा सुवेदी दम्पतीको नाममा भेटिएको थियो।
सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउँदा सरकारमा बहाल रहेका भूतपूर्व मन्त्री, सचिव, बिचौलियालगायतको संलग्नता रहेको देखिएपछि ब्युरोले अनुसन्धान थालेको थियो। ब्युरोका अनुसार झन्डै १३ अर्बको बिगो तयार भइसके पनि मुद्दा भने चलिसकेको छैन।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअघि बुझाएको अनुसन्धान प्रतिवेदन अपुरो भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीमै फिर्ता गरेको हो।
सरकारी वकिलले अनुसन्धानका थुप्रै बुँदामा थप प्रमाण खोज्नुपर्ने भएकाले प्रतिवेदन प्रहरीमा फर्काएको जनाएको छ। ब्युरो निर्देशक सिंहले सरकारी वकिल कार्यालयले ६५ वटा बुँदामा लेखेर पठाएको बताए।
प्रतिक्रिया