काठमाडौं- नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई ‘आउट’ गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर अब पशुपति धर्मशाला तिर गएको छ ।
भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा निजी कम्पनी बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ । उक्त धर्मशाला पर्यटनमन्त्री आलेले निरीक्षण गरेछन् ।
बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका नाममा पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल सञ्चालनमा ल्याएको थियो। यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।
पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।
यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।
बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाएका छन् । क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।
प्रतिक्रिया