पोखरा– त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।
खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरमा मनाङका फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले ओलाडिपो अफिजले गोल गरे। यता, विश्व अधिकारीको प्रहार पोलमा लाग्दै फर्कियो।
यस्तै, आर्मीका कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले मात्रै गोल गर्न सके। दीपक गुरुङको प्रहार पोलमा लाग्दै फर्कियो भने युद्ध शाहीको प्रहारलाई गोलरक्षक अशोक बरालले बचाए।
पेनाल्टी अघि दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन्। पहिलो हाफमा मनाङका कप्तान विमल राना पेनाल्टीमा गोल गर्न चुकेका थिए। खेलको १०औं मिनेटमा प्राप्त पेनाल्टीमा विमलले बाहिर प्रहार गरे।
एडेलाजा सोमिडेको प्रहारलाई युद्धले पेनाल्टी बक्समा क्लियर गर्ने क्रममा हातले बल छुन पुगेपछि रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टी प्रदान गरेको थियो। जसमा कप्तान विमलको प्रहार आकासियो।
अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ करिब १४ वर्षपछि उपाधि नजिक पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।
प्रतिक्रिया