पाेखरा- आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले २०औँ संस्करणमा नयाँ च्याम्पियन पाएको छ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा ट्राइब्रेकरमा मनाङलाई ५–४ ले हराउँदै एपीएफले पहिलोपटक उपाधि जितेकाे हाे।
१४ वर्षपछि फाइनल खेलेको एपीएफले उपाधि हात पारेकाे हाे।
एपीएफले उपाधिसँगै १० लाख १ हजार रुपैयांँ पुरस्कार पाएकाे छ। उपविजेता मनाङले भने ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनुपरेकाे छ।
ट्राइब्रेकरमा अफिज ओलावालेको प्रहार गोलरक्षकले बचाएपछि मनाङले कीर्तिमानी सातौँपटक उपाधि जित्ने मौका गुमाएको हो।
पोखरा रंगशालामा भएकाे २०औँ संस्करणको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ को बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रकेरबाट लिइएको हो। ट्राइब्रेकरमा मनाङका लागि फ्याङकिन कुइटे, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्न सफल भए।
अफिज ओलावालेको प्रहार एपीएफका गोलरक्षकले बचाए। एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड विनोङ गोल गर्न सफल भए।
खेलको ६७औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा दयानन्द सिंहले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८७औँ मिनेटमा मनाङका विश्व अधिकारीको फ्रिकिकमा फ्रयाङकलिन कुइटीले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा ल्याए।
इन्ज्युरी समयको पहिलो मिनेटमै एपीएफका रवि थिङले गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए।
प्रतिक्रिया