+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसी राष्ट्रहितमा छ, पारित गराउन लागिपरेको छु : प्रधानमन्त्री देउवा

4KNationalDaily
२०७८ फाल्गुन ५, बिहीबार १४:५८ बजे

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन्।

बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताएका हुन्।

उनले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताए। प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताए। उनले एमसीसी राष्ट्रको हितमा रहेको दाबी समेत गरे।

‘एमसीसी पास गराउन हामीले एकमतले निर्णय गरेका हौँ। त्यसमा लागिराखेको छु। फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन। तर, राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा होे। हामीले भन्नुपर्छ यो, सत्य हो।’

प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको गुनासो गरे। पार्टीले राम्रो राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने ईष्र्याका कारण पार्टीको प्रचार नगर्ने गरिएको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले पार्टीले गरेको राम्रा कामको प्रचार प्रसार पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए। प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस डराउन नहुने बताए।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताए। नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले। पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबै कुरालाई बिर्सेर भएपनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ’, उनले भने, ‘नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरासँग होइन। आफूलाई जे कुरामा विश्वास लागेको छ, त्यो विश्वासका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्यका निम्ति यी सबै कुराहरुमा नेपाली कांग्रेस पार्टी अरुजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोलि फेरिराख्ने चरित्र बोक्नु हुँदैन।’

महामन्त्री थापाले नेपाली कांग्रेसले कुनैपनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेका दाबी समेत गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily