+
Search

ताजा अपडेट +

पपुलर +

आजको संसदअघि सत्तागठबन्धनको बैठक, एमसीसीमा सहमतिका लागि अन्तिम प्रयास !

4KNationalDaily
२०७८ फाल्गुन ८, आईतवार ०७:५४ बजे

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज (आइतबार) पनि बस्दै छ। गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजे बस्दै छ।

संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो। यसअघि पटकपटक बैठक बसे पनि एकसीसीका विषयमा साझा धारणा बन्न सकेको छैन।

एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहीन भएपनि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्।

यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन। गत शुक्रबारको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस जसरी पनि पास गराउनुपर्ने पक्षमा रहेको छ। यथास्थितिमा एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ।

सतागठबन्धनको दल एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ।

जनता समाजवादी पार्टीले भने ठोस निर्णय लिन सकेको छैन। अध्यक्ष उपेन्द्र यादव माओवादीलगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्।

एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट पारित गराउन तीव्र दबाबमा रहेका छन्। गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन्।

प्रधानमन्त्री देउवाले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। यसअघि नै एमसीसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ।

आजको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन। संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily