काठमाडौँ- राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले राष्ट्रियता जटिल मोडमा पुगेको बताएकी छन्।
आइतवार बसेको संसद बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव पेश हुने भएपछि उनले यस्तो बताएकी हुन्।
‘एमसीसीको माध्यमबाट अमेरिकाले दिएको सहयोग किन सदनबाट पास गर्नुपर्ने भयो? नेपालको ऐनसँग बाझियो भने हाम्रो संविधानभन्दा माथि भएर एमसीसीको कानुन लागू हुनेछ भनिएको छ। ५५ अर्ब ठूलो कुरा होइन’, उनले भने, ‘देश पैसासँग साट्न सकिँदैन। सार्वभौमिता पैसासँग साट्न सकिँदैन। यसलाई खारेज गर्नुपर्छ।’
उनले एमसीसी कसैको दबाबमा ल्याइएको बताउँदै श्रीलंकाले बहिष्कार गर्न सक्दा नेपाले पनि त्यो आँट गर्नुपर्ने बताएकी छन्।
‘सरकारलाई आवश्यक पर्यो भने जनता आधा पेट खाएर पैसा दिन सक्छन्। हाम्रो देश भन्दा ठूलो केही होइन। सरकारलाई चाहिएको सहयोग आधा पेट खाएर सहयोग गर्छु भनेर जनता सडकमा छन्’, उनले भनिन्, ‘यसलाई खारेज गरियोस्। सडकमा जनता छन्। यो आवाज, पार्टीको होइन, नेपाली जनताको हो।’
पौडेलले प्रधानमन्त्रीलाई एमससी खारेज गरेर फिर्ता पठाउन भनिन्। ‘देश रहे पार्टी हुने हो। यसलाई खारेज गरेर जानुपर्छ’, उनले थपिन्, ‘सबै नेपाली जनताको आवाजको सम्मान गरौं।’
प्रतिक्रिया