गाेरखा- सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको संयोजकमा गाेरखाका जगतकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
आइतबारको ऊर्जामन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको हो । उनलाई बढीमा २ वर्षका लागि नियुक्त गरिएको जनाइएको छ ।
श्रेष्ठ इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पूर्वाधार विकास अध्ययन केन्द्रका निर्देशन तथा पुल्चोक क्याम्पस सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक हुन् ।
आयोजना प्रभावित जिल्ला गोरखा स्थायी ठेगाना रहेका श्रेष्ठले सिभिल इन्जिनियरिङमा पोर्चुगलबाट पीएचडी गरेका छन् । यसअघिका आयोजना इकाइ संयोजक कृष्णबहादुर कार्कीलाई सरकारले गत माघमा नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
ऊर्जा मन्त्रालयका अनुसार राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनामा मुआब्जा वितरण, बस्ती स्थानान्तरण र पुनर्स्थापनालगायत काममा हालसम्म साढे ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, जग्गा अधिग्रहणको काम भने अझै सकिसकेको छैन ।
चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) ले लामो समयसम्म पनि आयोजना अघि बढाउन सकेको छैन ।
पछिल्लो समय सरकारले गेजुवासँगको सम्झौता रद्द गर्ने र आयोजना आफै अघि बढाउने बताउँदै आएको छ । त्यसका लागि अहिले आयोजनाको लागत अनुमान पुनरावलोकनको कामसमेत चलिरहेको छ ।
प्रतिक्रिया