काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै शक्तिमा स्थानीय तहको चुनावका लागि तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यसो भनेका हुन्।
प्रचण्डले पार्टीको निर्वाचन केन्द्रित दुई महिने अभियान सुरु भएको बताउँदै अब आफ्नै बलबुतामा अघि बढ्दा उचित हुने उल्लेख गरेका हुन्।
‘स्थानीय तह निर्वाचन आउँदैछ। यस्तोमा हाम्रो पार्टीको निर्वाचन लक्षित २ महिने अभियान सुरु हुँदैछ’, उनले भने, ‘अब हामीले आफ्नै बलमा चुनाव जित्ने हिम्मत गर्न पर्छ। गठबन्धनको बैसाखी टेकेर चुनाव जित्ने सपना नदेखे हुन्छ।’
प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाहरुविरुद्ध माओवादी लडेर सफल भएको दाबी समेत गरे ।
उनले ओली झेली भएको टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफुहरुको लडाइँ रहेको पनि बताए ।
‘हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा प्राप्त सफलता हासिल भएका हुन्,’ उनले भने, ‘प्रतिक्रान्तिकारी नेतृत्व विरुद्ध विद्रोह गरिएको हो ।’
साथै प्रचण्डले एमसीसीको विषयमा माओवादीले देशलाई ठुलो दुर्घटनाबाट बचाएको बताए ।
‘एमसीसीका कारण देखाई नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता,र व्यवस्थापिकामाथि हमला गरिदै थियोे । तर हामीले गर्दा त्यो हुन पाएन,’ उनले भने,‘ मुलुकको राजनीतिक कमाण्ड माओवादीले गरिरहेको छ । त्यसले राष्ट्रको अहित हुने खालका गतिविधिका विरुद्धमा माओवादी अग्रसर हुन्छ नै ।’
प्रतिक्रिया