काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी अनुदान सहायता सम्झौता (एमसीसी)का कारण पार्टीभित्र उत्पन्न मतभेद रचनात्मक ढंगले साम्य पारिएको दाबी गरेका छन्।
पार्टीको चुनावी अभियानका क्रममा शनिबार नुवाकोटमा पार्टी निकट प्रेस सेन्टर, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीका कारण माओवादी विभाजन नै हुन्छ कि भन्ने हल्ला चले पनि अहिले एकताबद्ध भएको बताएका हुन्।
हालै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले निर्वाचन केन्द्रित २ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै प्रचण्डले यसमा पार्टीका सबै नेता–कार्यकर्ता एकताबद्ध हुने बताए।
‘हाम्रो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट निर्वाचन केन्द्रित २ महिने अभिनयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ’, उनले भने, ‘बाहिर विभिन्न खालका चर्चा पनि भए, पार्टी के होला, फेरि विभाजित हुने हो कि भन्ने चर्चा पनि एमसीसीका सन्दर्भमा उठे। तर हामीले धैर्यतापूर्वक, बडो रचनात्मक ढंगले अहिले हामी सम्पूर्ण ढंगले चुनावमा केन्द्रित भएरै जानुपर्छ, पार्टीलाई एकताबद्ध गरेरै लानुपर्छ। र, अभियानचाहिँ देशव्यापी रूपमा चल्नुपर्छ भनेर हामीले सर्वसम्मत रूपमा निर्णय गरेर अभियानमा छौं।’
सुरुमा एमसीसीको विरोध गरिरहेको माओवादी केन्द्र अन्ततः ‘व्याख्यात्मक घोषणा’सहित संसदबाट एमसीसी अनुमोदन गर्न सहमत भएको थियो।
त्यसबाट रुष्ट हुँदै वरिष्ठ नेता श्रेष्ठले एमसीसी पारित गरिएको दिनलाई कालो दिनको संज्ञा दिएका थिए। यसबीच उनको समूह माओवादीबाट बाहिरिनेसम्मका चर्चा चलेका थिए।
प्रतिक्रिया