काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव भएको बताएका छन्।
पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको उनले बताएका छन्।
शुक्रबार दिउँसो नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए।
‘पुँजी कतै हराइरहेको छ। आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’
उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि बताए।
‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फलाई हुने प्रकृया देखा परेको छ’, उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्।’
पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्ने क्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए।
‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादन मुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेस रेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले थपे।
प्रतिक्रिया