काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जाने विषययमा प्रमुख प्रतिपक्षी दल आफूसँग कुनै छलफल नगरेर बेवास्ता गरेको भनी नेकपा एमालेले लगाएको आरोपको खण्डन गरेका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा प्रवक्ता महतले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भारत भ्रमणबारे एमाले अध्यक्षसँग छलफलै नगरेको भनेर गरिएकाे प्रचार झुटाे भएकाे दाबी गरेका हुन्।
‘प्रधानमन्त्रीजीले कुराकानी पनि गर्नुभएन। छलफलमा बोलाउनुभएन। फोनसमेत गर्नुभएन। वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्थहरुबाट भइरहेको छ, त्यो सरासर असत्य हो, झूट हो’, प्रवक्ता महतले भने, ‘प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभएको हो। उहाँले म बाहिर हुन्छु। आउन सक्दिनँ भन्नुभयो। आफू आउन नसक्ने, आउदिनँ भन्ने अनि अहिले आरोप लगाउने?’
उनले कांग्रेसले सधैँ सत्य बोल्ने र बोलेअनुसार काम गर्ने गरेको दाबी पनि गरे। कांग्रेसले देशको हित र देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गरिरहेको महतले बताए।
‘हामी सत्तामा हुँदा पनि नहुँदा पनि आफ्नो बोली, वचन र अडान फेर्दैनौँ,’ उनले भने। आफू परराष्ट्रमन्त्री हुँदा पनि र नहुँदा पनि विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुसँग नेपालको हित र चासोका विषय स्पष्ट राख्ने गरेको पनि महतले जिकिर गरे।
‘पूर्वप्रधानमन्त्री ओलीजी जनतातिर फर्केर राष्ट्रियताका कुरा गर्नुहुन्छ तर सम्बन्धित ठाउँमा कुरा राख्न सक्नुहुन्न। उहाँले राख्दै राख्नुभएन’, उनले भने।
प्रतिक्रिया