काठमाडौँ- अभिनेता पल शाह (पूर्णविक्रम शाह) नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दामा हाल पुर्पक्षका लागि कारागारमा छन्। तर पीडितले बयान फेरेसँगै उनी रिहा हुने सम्भावना बढेको छ। यद्यपि अदालतको फैसला नआउँदासम्म यसै भन्न सकिन्न।
तर जे होस्, घटनाले नयाँ मोड लिएको छ। अर्थात् पीडित बालिकाले आफूलाई पलले बलात्कार नगरेको, अरुको उक्साहट र दबाबमा मुद्दा हालेको बयान दिएपछि परिस्थिति फेरिएको हो। उनले मात्र होइन, जाहेरीकर्ता उनका बुवाले समेत त्यस्तै खालको बयान दिएका छन्।
आइतबार तनहुँ जिल्ला अदालतले बकपत्र गराउने क्रममा उनीहरूले पल निर्दाेष रहेको बताएका हुन्। यसले उनीहरू पक्षका वकिल भने आश्चर्यचकित भएका छन्। पीडितलाई ‘होस्टाइल’ बनाइएको आशंका उनीहरूले गरेका छन्।
तीमध्ये एक वकिलका अनुसार त्यस दिन बालिकाको हाउभाउ फरक देखिएको थियो। यसले केही फरक संकेत दिइरहेको थियो। नभन्दै पीडित बालिकाले अदालतमा पल निर्दाेष रहेको बताउँदै सबैलाई छक्क पारिन्।
उनका अनुसार बकपत्रका क्रममा पल निर्दाेष रहेको तथा अरुको दबाब र प्रभावमा परेर आफूलाई बलात्कार अभियोग लगाएको भन्दै बालिका न्यायाधीशकैसामु रोइन्। एकछिन वातावरणै बेग्लै भएको थियो।
प्रतिक्रिया