+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले खोसे पालुङटार मेयरको टिकट

4KNationalDaily
२०७९ बैशाख १६, शुक्रबार २२:१२ बजे

गाेरखा- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पालुङटार नगरपालिकाकाे मेयरकाे टिकट खाेसेका छन् । गठबन्धन विना नै जिल्लाका ११ स्थानीय तह र ९४ वडामा नै उम्मेदवारी दिएकाे गाेरखा कांग्रेस पार्टी सभापति देउवाकाे पत्र आएपछि कांग्रेसकाे राजनीतिमा नयाँ तरंग छाएकाे छ ।

कांग्रेसका नेताहरूका अनुसार उम्मेदवारी फिर्ताकाे समय सकिएपछि देउवाले इमेलमार्फत पत्र पठाउदैं पालुङटार मेयरकाे टिकट खाेसेका हुन् । तर, ढिलाे गरि पत्र पाएकाे भन्दै निर्वाचन अधिकृतकाे कार्यलयले उम्मेदवारी कायम भएकाे दावी गरेकाे छ। पालुङटारमा कांग्रेसबाट दीपकबाबु कंडेलले उम्मेदवारी दिएका थिए ।

पछिल्लाे राजनीतिक घटनाक्रम अनुसार पालुङटारमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई सघाउनु पर्ने देखिएकाे छ । जसपाका संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईकाे गृहनगर रहेकाे पालुङटारमा देउवासंग मेयर मागेका थिए । चुनावी तालमेल गर्नेबारे भट्टराई र देउवाबिच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा छलफल भएको थियो ।

देउवाले पठाएकाे पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेद्वारको मनोनयन दर्ता गराएका दिपकबाबु कंडेलको उम्मेद्वारी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) बमोजिम फिर्ता लिइएको छ । तसर्थ निजको नाम उम्मेद्वारीको सूचीबाट हटाइदिनु हुन अनुरोध गरिन्छ ।’

तर उक्त पत्र मनोनयन फिर्ता गर्ने समयसीमा भन्दा ढिलो गरि प्राप्त भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कंडेलको उम्मेद्वारी कायमै राखेको छ । ‘मनोनयन फिर्ता लिने म्याद साँझ ५ बजेसम्म हो, हामीलाई इमेल मार्फत पत्र प्राप्त हुँदा साँझको ६ बजिसकेको थियो’, निर्वाचन अधिकृत गोकर्णराज पन्तले भने ‘त्यसैले उहाँको उम्मेद्वारी कायमै राखेर अन्तिम नामावली प्रकाशन गरेका छौं ।’

‘प्राविधिक हिसावले उम्मेद्वारी फिर्ता हुन नसकेपनि शनिवार राजनीतिक विज्ञप्ति निकालेर तालमेलबारे जानकारी दिने सल्लाह भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन  पोखरेलले भने, ‘त्यसपछिका प्रचारप्रसारका काम दुई पार्टीले संयुक्त रुपमा गर्नेछन् ।’

जसपाले पालुङटारकी उपमेयरकी उम्मेद्वार नारायणी अधिकारी र गोरखा नगरपालिकाकी मेयर उम्मेद्वार सञ्जु भट्ट नेपालीको मनोनयन फिर्ता गरेका छन् ।

देउवाले उम्मेदवार फिर्ता बोलाउन गरेको निर्णयको बिरोधमा पालुङटारका कांग्रेसका युवाहरुले नाराजुलुससँगै बिरोध जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा ब्यवस्था थप कडा बनाइएको छ ।

भट्टराईकाे ट्विट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily