रोल्पा- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुरानो घर फर्कन आग्रह गरेका छन्।
निर्वाचनमार्फत गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई ‘संशोधनवादी र गद्दारीको बाटो’ भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावकै बाटोमा फर्किएकामा प्रशन्नता व्यक्त गर्दै पुनले पार्टीमा स्वागत गर्न तयार रहेको बताए।
माओवादीबाट अलग भएर अर्को पार्टी बनाएका विप्लव १० वर्षपछि सही बाटोमा फर्किएको उनको भनाइ थियो।
‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनुभएको थियो। अहिले सही बाटोमा फर्कनुभएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयता र सामाजिक न्यायसहितको मुलधारमा, मुल बाटोमा स्वागत छ।’
आफूहरु गणतन्त्रसहितका परिवर्तन संस्थागत गर्न लागिपरेका बेला विप्लवले पार्टी छाडेको स्मरण गर्दै पुनले उनको ‘एकीकृत क्रान्ति’ को लाइन बिसर्जित भएको टिप्प्णी गरे। गलत बाटो हिंडेकैले विप्लव समूहमा फुट आएको तर्क पुनको थियो।
काँग्रेस, एमाले र अरु दलको चुनाव चिन्ह लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको माओवादी मुलधारमा समाहित हुनु प्राकृतिक र हितकर हुने पुनले बताए।
‘कतै एमाले, कतै काँग्रेस, कतै अरु दलको चिन्ह बोकेर हिंड्नुभएको छ’, उनले भने, ‘अरुका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मुलधारमा आउनुहोस्, यसमा नलजाए हुन्छ।’
पार्टीमा फर्किए विप्लव सहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए।
रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले माओवादीविरुद्ध काँग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेको छ।
प्रतिक्रिया