काठमाडौँ- कतारकी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्।
आफ्नो इन्स्टाग्राममार्फत शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी छन्।
’म केहि दिन बिरामी परेकी थिएँ, त्यसैले आँटेको हिमाल चढ्न सक्दिन झैं लागेको थियो’, उनले भनेकी छन्, ‘तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गरेँ।‘
हिमाल चढ्न सहज नभए पनि आँटले सम्भव भएको उनले बताएकी छन्। ‘हिमाल चढ्न सहज थिएन र यसले मलाई अझै हिम्मत दिएको छ’, उनले भनेकी छन्।
कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो। ‘यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ’, उनले भनेकी छन्, ‘अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ।’
उनले आफ्नो सफलता पछाडि बलियो टिमको साथ र सहयोग रहेको उल्लेख गरेकी छन्। ‘निम्स दाइ लगायत टिमले मलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद दिन्छु’, उनले भनिन्।
उनले अब विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी छन्। उनी अब त्यसतर्फ प्रस्थान गरेकी छन्। यसअघि शेखा आश्माले सगरमाथा आरोहण प्रयास गरेकी थिइन्। जुन सफल हुन सकेको थिएन।
प्रतिक्रिया