गाेरखा- गोरखाका अधिकांश पालिकाहरुमा माओवादी केन्द्रका उम्मेदवारहरुले अग्रता हासिल गरेका छन्।
जिल्लाका अधिकांश गाउँपालिकामा अग्रता कायम गरेपनि माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको गृहपालिका सिरानचोक गाउँपालिका भने ठूलो मतान्तरका साथ कांग्रेसका उम्मेदवार अग्रस्थानमा छन्।
अन्तिम निर्वाचन परिणाम प्राप्त भएका चारमध्ये तिन पालिकामा माओवादी केन्द्र र एउटा पालिकामा कांग्रेसले जीत हासिल गरिसकेका छन्।
आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस, बारपाक–सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले जित दर्ता गरेका हुन्।
आरुघाटमा कांग्रेसका राजु गुरुङ्ग ५ हजार ४ सय ५६ मत सहित अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा विजयी कांग्रेसकै कल्पना नेपालीले ५ हजार ६ सय ३२ मत प्राप्त गरेकी छन्।
बारपाक–सुलिकोट गाउँपालिकामा विजयी माओवादी केन्द्रका विष्णुप्रसाद भट्टले ५ हजार ७ सय १९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा विजयी माओवादी केन्द्रकै सनमाया गुरुङ्गले ५ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन्।
यसअघि कांग्रेसले विजय भएको अजिरकोटमा माओवादी केन्द्रका दीपक देवकोटा ३ हजार ७ सय ८७ मत सहित विजयी भएका छन्। उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अनिता भुजेल ३ हजार ५ सय ३२ मतसहित विजयी भएकी छन्। शहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापामगर र उपाध्यक्षमा माओवादी केन्द्रकै इन्दिरा तिवारी निर्वाचित भएकी छिन् ।
२०७४ मा कांग्रेसले विजय हासिल गरेको सिरानचोक गाउँपालिकामा भने कांग्रेसका उम्मेदवारले निकै ठूलो मतान्तरका साथ अग्रता हासिल गरिरहेका छन्। कांग्रेसका गुरुङ्गले २ हजार १८१ मतसहित अग्रता लिदां माओवादीका नवराज पुडासैनीले १ हजार ९५ ल्याएका छन् ।
गण्डकी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार दीपक तिमिल्सिनाले २ हजार ३ सय ४२ मत प्राप्त गर्दा कांग्रेसका होमबहादुर राना मगर २ हजार १ सय ७५ मतका साथ दोस्रो स्थानमा छन्। यो गाउँपालिका २०७४ मा पनि कांग्रेसले विजय हासिल गरेको थियो।
२०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको र जारी मतगणनामा सुरुमा एमाले र त्यसपछि कांग्रेसले अग्रता हासिल गरेको सदरमुकाम गोरखा नगरपालिकाको पछिल्लो मतगणनामा आकस्मिक रुपमा माओवादीका मेयरका उम्मेदवार कृष्णबहादुर रानाले अग्रता लिएका छन्।
माओवादीका रानाले ४ हजार ३६८ मत प्राप्त गर्दा कांग्रेसका मेयरका उम्मेदवार राजनराज पन्तले ३ हजार ८५६ मत ल्याएका छन् । कांग्रेसका पन्त निवर्तमान मेयर समेत हुन्। तेस्रो स्थानमा रहेकी एमाले उम्मेदवार सम्झना देवकोटाले ३ हजार ३३९ मत प्राप्त गरेकी छन्।
धार्चे गाउँपालिकामा पनि माओवादीले अग्रता हासिल गरिरहेको छ। माओवादीका अध्यक्षका उम्मेदवार लक्ष्मण गुरुङ्गले १ हजार ६ सय ७४ मत सहित अग्रता हासिल गर्दा कांग्रेसका सन्तबहादुर गुरुङ्ग १ हजार १ सय ९२ मतसहित दोस्रो स्थानमा छन्।
यो गाउँपालिकाको उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै सुनिता गुरुङ्ग उल्लेख्य मतान्तरका साथ अग्रस्थानमा छिन् । यो गाउँपालिकामा २०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो।
जसपा अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा पनि कांग्रेस र जसपाका मेयरका उम्मेदवारलाई पछि पार्दै माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवार विवस चिन्तन र बन्दना पाण्डे अग्रस्थानमा छन्।
२०७४ मा कांग्रेसबाट निर्वाचित मेयर दीपकबाबु कँडेललाई पछि पार्दै माओवादीका उम्मेदवार चिन्तनले २ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् भने कँडेलले २ हजार ४ सय ८८ र जसपाका प्रेमबहादुर गुरुङ्गले २ हजार १ सय १८ मत प्राप्त गरेका छन्।
यसअघि कांग्रेसले विजय हासिल गरेको भीमसेन थापा गाउँपालिकामा पनि माओवादी केन्द्रले अध्यक्षमा अग्रता लिइरहेको छ। उपाध्यक्षमा भने यहाँ कांग्रेस उम्मेदवार अग्रस्थानमा छिन्।
अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बञ्जाराले ४ हजार ६०९ मत सहित अग्रता हासिल गर्दा कांग्रेसका राेशन गुरूङले ४ हजार ५३६ मत प्राप्त गरेका छन्।
उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाकाे मतगणना सर्वदलीय बैठक बसिरहेको र आजै बेलुकाबाट हुने जनाईएको छ ।
प्रतिक्रिया