+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारमा हार्‍याे गठबन्धन, मेयरमा माओवादीका चिन्तन र उपमेयरमा बन्दना निर्वाचित

4KNationalDaily
२०७९ जेष्ठ ५, बिहीबार ०७:४४ बजे

गाेरखा- पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ ।

जनता समाजवादी पार्टी- नेकपा एमाले गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६ हजार ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याए ।

निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भएका छन् । उनले ४ हजार ९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ ।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५ हजार ५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी छन् ।

गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २८१ मतका साथ तेस्रो भइन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जसपा र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily