+
Search

ताजा अपडेट +

पपुलर +

अर्को सिजन एनफिल्डमै रहने सलाहको घोषणा

4KNationalDaily
२०७९ जेष्ठ १२, बिहीबार ०९:२३ बजे

काठमाडौं– इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहले आफू आगामी सिजन एनफिल्डमै रहने बताएका छन्। लिभरपुल छाड्ने चर्चा चलिरहँदा २९ वर्षीय सलाहले आफू आगामी सिजन एनफिल्डमै रहने बताएका हुन्।

च्याम्पियन्स लिगको फाइनल अघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म अहिले सम्झौतामा ध्यान केन्द्रित गर्दिनँ। म निश्चित रूपमा अर्को सिजन लिभरपुल बस्छु।’

लिभरपुलसँग इजिप्टका स्टार फरवार्ड सलाहको सम्झौता २०२३ सम्म रहेको छ। उनी २०१७ मा रोमाबाट लिभरपुल आएका थिए। उनले लिभरपुलबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन् ।

लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोप फाइनलका लागि आशावादी छन्। उनका अनुसार सलाहले क्लबका लागि गरेको काम प्रशंसनीय छ। उनलाई टोलीमा राख्दा ठूलो फरक पर्छ। उनी अझै ‘म्याच’ विजेता हुन्।

सलाह यस सिजन प्रिमियर लिगमा २३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्। लिभरपुलबाट खेल्दै उनले पाँच वर्षमा तेस्रो पटक ‘गोल्डेन बुट’ अवार्ड पनि जिते। उनले टोटेनहमका फरवार्ड सन ह्युङ मिनसँग अवार्ड बाँडेका थिए।

उनीहरूले यस सिजन समान २३ गोल गरेका थिए। प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिने प्रावधान रहेको छ।

सनले टोटेनहमलाई चौंथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्‍याएका थिए।

सनले ३५ खेल खेल्दै २३ गोल गरेका हुन्। उनले कुनै गोल पेनाल्टीमा गरेनन्। उनले १ फ्रिकिक गोलसहित ७ असिस्ट प्रदान गरेका थिए।

सन प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी हुन्। यता, दोस्रो स्थानमा रहेर लिग टुंग्याएको लिभरपुलका लागि सलाहले अन्तिम दिन १ गोल गर्दै २३ गोल पुर्‍याए।

उनले २३ गोल गर्ने क्रममा भने ५ पेनाल्टी प्रहार गरेका थिए। सलाहले सर्वाधिक गोलकर्तासँगै सर्वाधिक असिस्टको पनि उपाधि जिते। उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily