काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प रहेको बताएका छन्।
१५औं गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना वक्तव्य जारी गर्दै उनले नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृत्तिहरूबीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव समेत उल्लेख गरेका छन्।
‘तसर्थ, आजको दिन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढ्न हार्दिक अपील गर्दछु’, प्रचण्डले भनेका छन्।
प्रचण्डले आजको दिनलाई नेपाली जनताको सदियौंदेखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणाको दिन भएको बताएका छन्।
‘आजको दिन नेपाली जनताको सदियौं देखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो।
१० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु’, उनले भनेका छन्।
प्रतिक्रिया